अख्तियारको मुद्दा खेपेका इन्स्पेक्टर फेरि तस्करीको लाइनमा कमाण्डर

बारा — देशको राजस्व असुली लक्ष्य पूरा नहुँदा सरकारलाई सामान्य खर्च टार्न हम्मेहम्मे परेको छ, तर तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका सुरक्षा निकायका प्रमुखहरूकै मिलेमतोमा भन्सारछलीको सञ्जाल झन् सुदृढ बन्दै गएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भन्सारछली रोक्नुपर्नेमा उनीहरूकै ध्यान अतिरिक्त कमाइतिर केन्द्रित भएको आरोप लाग्दै आएको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ विवादमा तानिएका छन्।

उनीमाथि सुन लुटपाटमा संलग्न भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा खेपेका प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई ‘घुमुवा कमाण्डर’ बनाएर तस्करीको लाइन चलाउने टोलीमा परिचालन गरेको आरोप छ।

२०७७ सालमा रसुवाको टिमुरे चौकीमा कार्यरत रहँदा चीनबाट तस्करी गरिएको सुन बाँडफाँड गरेको अभियोगमा नेपालसहितका चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। तर अहिले उनी बारामा सशक्त भूमिकामा पुनः सक्रिय छन्।

नेपालको नेतृत्वमा प्रहरी जवान चन्दन यादव पनि घुमुवाका रूपमा सिम्रौनगढ नाकामा परिचालित छन्। उनीहरूको मिलेमतोमा व्यापारीहरू सन्दिप यादव, भोला गुप्ता र अरबिन्द साहजस्ता व्यक्तिहरूले तस्करीको लाइन सञ्चालन गरिरहेका छन्।

रातको समयमा माटिअर्वाबाट वीरगञ्जसम्म कपडा ओसारपसार हुने, तेलगाईबाट गाँजा तस्करी हुने, कवाडीगोठ हुँदै फुल र माछासमेत भारत पठाउने काम बाक्लिँदै गएको छ।

बारा पछिल्लो समय तस्करीको ‘हटस्पट’ बनेको छ। प्रहरीकै सेटिङमा सञ्चालन हुने तस्करीका कारण सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय