सर्लाही गोल्डेन हस्पिटलका संचालकद्वारा बिरामी र आफन्तमाथि कुटपिट, बिलको विषयमा विवाद

सर्लाही : सर्लाही जिल्लाको बरहथवा नगरपालिका–६ स्थित सर्लाही गोल्डेन हस्पिटलमा उपचार गराउन गएका बिरामी र उनका आफन्तमाथि हस्पिटलका संचालक दिपेश यादवले कुटपिट गरेका छन् । बरहथवा –६ निवासी रामप्रवेश साहको सानो छोराको औंला काटिएपछि आज बिहान उनीहरू उपचारका लागि सर्लाही गोल्डेन हस्पिटल पुगेका थिए । प्राथमिक उपचारपछि जब साहले बिल मागे, हस्पिटलले १८ हजार रुपैयाँ मागेको थियो ।

बिलको रकम अत्यधिक भएको भन्दै साहले “यत्रो पैसा कसरी लाग्यो?” भनेर सोध्दा हस्पिटलका संचालक यादव रिसाएर बिरामीका आफन्तलाई गालीगलौज गर्दै कुटपिटमा उत्रिएका थिए । प्रत्यक्षदर्शीका अनुसार, घटना घटेपछिपछि अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । पीडित पक्षले स्थानिय प्रहरी प्रशासन र बरहथवा नगरपालिकाको स्वास्थ्य शाखामा उजुरी दिएका छन् ।

स्थानीय बासिन्दाहरूले संचालक यादवको यसअघि पनि यस्तै गतिविधि रहेको बताउँदै आएका छन् । उनीमाथि यसअघि पनि बिरामीसँग अत्यधिक शुल्क असुली गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्नेजस्ता गुनासाहरू बारम्बार प्रशासनसम्म पुगिसकेका छन् । तर अहिलेसम्म कुनै ठोस कारबाही नभएकोप्रति स्थानीय आक्रोशित छन् । घटनापछि पीडित पक्षले न्यायको माग गरेका छन् भने स्थानीय समाजसेवी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरूले पनि घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

यसबीच बरहथवा नगरपालिका स्वास्थ्य शाखाले घटनाको जानकारी लिएको र छानबिन प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय