बिरगंज : हनुमान जन्मोत्सवको अवसरमा बीरगन्जमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी बलले हस्तक्षेप गर्नुपर्यो। झडपको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रसहित १७ जना प्रहरी घाइते भएका छन्।
शोभायात्रा नगर परिक्रमा गर्दै छपकैया क्षेत्र पुग्दा तनावको स्थिति उत्पन्न भएको थियो। झडप पछि आक्रोशित समूहले छपकैया क्षेत्रमा अवस्थित श्रीराम हल अगाडि रहेका करिब आधा दर्जन बिरयानी पसलहरूमा तोडफोड र आगजनी गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी अश्रुग्याँसका सेल प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको थियो। पर्सा प्रहरीले बल प्रयोगमा संयमता अपनाएको जनाए पनि स्थिति अत्यधिक तनावग्रस्त भएपछि कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले बीरगन्जका विभिन्न क्षेत्रमा कडा सुरक्षा प्रबन्धसहित कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बीरगन्ज–१५ को भेडियाही चोकदेखि बीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरतर्फ बीरगन्ज–१४ को गण्डक चोकदेखि दक्षिणमा बीरगन्ज–१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लागू गरिएको छ।
कर्फ्यु आदेश शनिबार साँझ ७:३० बजेदेखि सुरु भई आइतबार दिउँसो १२ बजेसम्म लागू हुने बताइएको छ। घटनामा सशस्त्र प्रहरीका डीएसपीसहित करिब एक दर्जन स्थानीय घाइते भएको जनाइएको छ। प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ।



