सर्लाही : सर्लाही जिल्लाको बासबरीया गाउँपालिका–३ स्थित नयाँरोड–मधुवनी सडकखण्डको मानपुर बैरेज नजिक चैत १ गते राति करिब ८ः३० बजे भएको एक रहस्यमय मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ। घटनास्थलमै राजीव पासवानको मृत्यु भएको थियो भने अर्का युवा धनञ्जय यादव गम्भीर घाइते अवस्थामा फेला परेका थिए। यादवको उपचारका क्रममा चैत ११ गते बिहान वीरगञ्जस्थित न्युरो अस्पतालमा निधन भयो।
सुरुमा दुर्घटनाजस्तो देखिएको यो घटना अब आपराधिक कोणबाट हेर्न थालिएको छ। मृतकद्वय चढेको मोटरसाइकल घटनास्थलभन्दा केही पर खाल्डोमा लुकाइएको अवस्थामा भेटिएको थियो। मृतक राजीव पासवानका भाइ विजय यादवले इलाका प्रहरी कार्यालय बरहथवामा किटानी जाहेरी दर्ता गराएका छन्। तर, हप्तौं बितिसक्दासमेत दोषी खुलेआम हिँडिरहेको र प्रहरी प्रशासन मौन रहेको पीडित परिवारको आरोप छ। उनीहरूले घटनालाई ढाकछोप गर्न प्रहरी प्रशासन दोषीहरूसँग मिलेको आशंका गरेका छन्।
घटनामा प्रयोग गरिएको मोटरसाइकल टुक्रा टुक्रा पारेर विभिन्न स्थानमा गाडिएको थियो भने अर्को मोटरसाइकल शिवजी यादवले आफ्नो ससुरालीमा लुकाएको स्विकार गरिसकेका छन्। उनले घटनामा संलग्न अन्य आधा दर्जन व्यक्तिहरूको नाम समेत सार्वजनिक गरिसकेका छन्। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको भए पनि पक्राउ पुर्जी जारी नभएको मृतकका भाइ विजय यादव बताउँछन्।
यस घटनाबारे सर्लाहीका डिएसपी गौतम थापाले अनुसन्धान जारी रहेको र केही आरोपित फरार भएकाले खोजी कार्य भैरहेको जानकारी दिएका छन्। तर, अनुसन्धानमा भइरहेको ढिलाइप्रति स्थानियहरू गम्भीर आशंका व्यक्त गरिरहेका छन्। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।



