बारा : बाराको पचरौता नगरपालिका–५ मा एक भारतीय नागरिकले झुटो विवरण प्रस्तुत गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको खुलासा भएको छ। भारतको मोतीहारी जिल्लाको जितना थानान्तर्गत बडइला निवासी रामकैलाश यादवले आफ्ना ससुरा नवल राय यादवलाई बाबु बनाई २०६३ फागुन २६ गते वंशजको आधारमा नेपाली नागरिकता लिएका थिए।
रामकैलाशले नागरिकता वितरण टोलीमार्फत ३३०४९/५०८३ नम्बरको नागरिकता तत्कालीन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा प्राप्त गरेका थिए। यद्यपि, उनी भारतमा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधारकार्डसमेत बोकेका छन् र दुवै देशमा निर्वाध रूपमा ओहोरदोहोर गरिरहेको स्थानीयवासीले जनाएका छन्।
यस प्रकरणमा पचरौता नगरपालिकाका नगरप्रमुख जालन्धर सिंह जैसवारले दोषीमाथि कडा छानबिन र कारबाहीको माग गरेका छन्। सामाजिक सञ्जालमार्फत घटनाको खुलासा गर्दै उनले जिल्ला प्रशासन कार्यालय बारालाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।
उनले भने, “एक भारतीय नागरिकले आफ्नो ससुरालाई बाबु बनाई नेपाली नागरिकता लिएको पुष्टि भएको छ। यस्तो नक्कली विवरण प्रस्तुत गर्नेहरूलाई कानूनी दायरामा ल्याई कडा कारबाही हुनु आवश्यक छ।”
यस घटनाले सीमावर्ती क्षेत्रमा नागरिकता वितरण प्रक्रियाको विश्वसनीयता र सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।



