सिरहा : सिरहामा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागी कार्यक्रमलाई लिएर सरकारी स्रोत र साधनको खुल्ला दुरुपयोग भएको खुलेको छ। मंगलबार सिरहा सदरमुकाममा सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा कार्यकर्ता उतार्न स्थानीय तहहरूको नाममा पेट्रोलियम पदार्थ वितरण गरिएको पाइएको हो।
चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा एमाले कार्यकर्ता गुगली यादवको अगुवाइमा मोटरसाइकललाई २ लिटर, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म इन्धन वितरण गरिएको थियो। यी इन्धनहरू पार्टीको स्रोतबाट नभई, स्थानीय पालिकाको खाताबाट चल्ने पेट्रोल पम्पमार्फत उपलब्ध गराइएको थियो। स्थानीय तहका प्रशासकीय अधिकृतहरूका अनुसार, वितरण गरिएको इन्धनलाई पालिकाको खर्चमा समायोजन गरिनेछ।
सिरहाका १७ स्थानीय तहमध्ये ९ वटा एमालेले जितेका छन्, जसले कार्यक्रमलाई ठूलो रूपमा समर्थन जनाए। तर, कार्यक्रममा सरकारी सवारी साधनको समेत व्यापक प्रयोग गरिएको देखिएको छ। बालबालिका समेत राजनीतिक कार्यक्रममा प्रयोग गरिएको तथ्य उजागर भएको छ, जुन कानून अनुसार गैरकानुनी हो।
यसैबीच, कार्यक्रमको तयारीमा सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस बन्द गराइएको थियो। क्याम्पस प्रमुख राजेश्वर यादवले प्रधानमन्त्रीको कार्यक्रमका कारण बिदा दिएको जानकारी दिए।
सिरहाका नागरिक अरविन्द यादवले कार्यक्रमप्रति आक्रोश व्यक्त गर्दै भने, “आज सिरहामा सरकारी स्रोतको लुट भयो। सुशासनको कुरा गर्ने प्रधानमन्त्रीकै कार्यक्रम यस्तो दृश्यले गिज्यायो।”
प्रधानमन्त्रीको भाषण हुँदै गर्दा सरकारी स्रोतको दुरुपयोग र अनियमितता देखिएको भन्दै सर्वसाधारणमा आलोचना चुलिएको छ, तर एमाले जिल्ला नेतृत्व यसबारे प्रतिक्रिया दिन चाहिरहेका छैनन्।




