रौतहट — जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देशको पछौटेपनको मुख्य दोष कांग्रेस र कम्युनिस्ट दलहरूलाई लगाएका छन्। उनले पछिल्ला ३५ वर्षयता पालैपालो सत्तामा रहे पनि यी दुई दलले देशमा समुचित विकास नगरी चरम गरिबी र बेरोजगारी मात्र बढाएको बताए।
मंगलबार रौतहटको गरुडामा सम्पन्न जसपा नेपाल जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “कांग्रेस र कम्युनिस्टको हातमा शासन रहेसम्म देशको विकास सम्भव छैन।” उनले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कमजोर बनाउने जिम्मेवार पनि यिनै दलहरू रहेको आरोप लगाए।
देशका ठूला उद्योग, कलकारखाना र कम्पनीहरू बन्द हुँदा हजारौं युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले मधेसवासीहरूलाई आगामी २०८४ को निर्वाचनमा जसपालाई बहुमतसहित विजयी गराउन आह्वान गरे।
लोकतन्त्र, गणतन्त्र र संघीयता मधेस आन्दोलनको उपलब्धि भएको स्मरण गराउँदै अध्यक्ष यादवले यसलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको चेतावनी दिए। उनले भने, “संघीयता मेटाउने सपना देख्नेहरू आफैँ मेटिनेछन्।”
जसपा नेपाल रौतहट जिल्ला कार्य समिति आयोजना गरेको प्रथम जिल्ला अधिवेशन मंगलबारदेखि गरुडास्थित होटल एन प्लाजामा सुरु भएको छ। उद्घाटन सत्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भइसकेको छ भने बन्दसत्रको सुरुआत रातिदेखि गरिएको छ।



