जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण नजिक, ‘ढकिया’ चिह्नसहित नयाँ दल बन्ने तयारी

बर्दिया, काठमाडौं — राजनीतिक समीकरण फेरिने संकेत दिँदै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणका लागि निर्णायक वार्ता बर्दियामा जारी छ। आइतबारको बैठकमा एकताको खाका तयार पार्दै नेताहरूबीच व्यापक सहमति बनेको जनाइएको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार जनमत अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीले एकतामा टुंगो लगाउने तयारी गरेका छन्। कार्यदलको प्रस्तावित संरचना अनुसार एकतापछि पार्टी अध्यक्ष राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरी हुने एक विकल्पमा गम्भीर छलफल भइरहेको छ। अर्को विकल्प अनुसार दुई अध्यक्षीय प्रणाली ल्याउने सम्भावनासमेत खुला राखिएको छ।

एकीकृत पार्टीको सम्भावित नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिन्हका रूपमा नाउपाको ‘ढकिया’ प्रयोग गर्ने सहमति नजिक पुगेको छ। जनमत पार्टी ढकिया चिह्नमा सहमत भएको हो।

दुवै पार्टीबाट तीन–तीन सदस्यीय कार्यदल गठन भइसकेको छ। जनमतबाट अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी छन् भने नाउपाबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा सदस्य छन्। कार्यदलको यो दोस्रो बैठक हो।

नेताहरूका अनुसार एकताको अधिकांश बुँदामा सहमति भइसकेको छ र निकट भविष्यमा औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय