महोतरीमा नाबालिका बालिकामाथि सामूहिक बलात्कार, बाबु भन्छन् — ‘छोरी जोगाउँदा उल्टै मलाई हिरासतमा राखियो’

जनकपुर — महोत्तरीको बलवा नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। पीडित बालिकाका बुवाले बताए अनुसार घटना बिहीबार रातिको हो । कामबाट फर्कँदै गर्दा छोरी घरमा नदेखिएपछि खोजी गर्दै जाँदा दुई युवाले छोरीलाई निर्वस्त्र बनाएर बलात्कार गरिरहेको अवस्थामा भेटिएको उनले बताएका छन् ।

‘राति कामबाट घर फर्कँदै गर्दा दुई युवकले एक बालिकालाई कपडाले मुख छोपेर घिसार्दै लगेको देखेको थिएँ। तर, मैले वास्ता गरिन । घर पुग्दा आफ्नी छोरी नदेखेपछि खोजी गर्नेक्रममा त्यस्तो देख्नु पर्यो’– पीडित बालिकाका बुबाले भने ।

आफूले लठ्ठीले हानेर उनीहरूलाई खेदाएको र एक युवक घाइते पनि भएको उनको भनाइ छ। ती युवकको खुट्टामा चोट लागेको उनले बताए । नाबालिका छोरीमाथि अत्याचार गर्ने उपर आफूले कुटपिट गर्दा प्रहरीले उल्टै आफुलाई एक दिनभर हिरासतमा राखेको उनले गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलालप्रसाद जयसवारले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । बालिकाको प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य जाँचलगायतको प्रक्रिया अघि बढाइएको बताउँदै उनले आवश्यक सबै कानुनी प्रक्रिया भइरहेको जानकारी दिए ।

आरोपीमध्ये एक जनाको प्रहरीको निगरानीमा खुट्टाको उपचार भइरहेको र एक जना फरार रहेको जयसवारले बताएका छन् । प्रहरीका अनुसार आरोपित दुबै नाबालक हुन् ।

एक साता अघि महोत्तरीमै एक बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका छन् । बालिकाका अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई सोमबार घरबाटै पक्राउ गरेको हो।

आइतबार अपराह्न आरोपितले घरबाहिर खेलिरहेकी बालिकालाई घरको भान्सा कोठामा लगेर बलात्कार गरेको आरोप छ ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय