काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गणतन्त्रको रक्षा गर्ने चर्चा भइरहे पनि संघीयता रक्षा र त्यसको प्रभावकारी कार्यान्वयन अझैसम्म नदेखिएको बताएका छन्।
मधेशका सात वटा राजनीतिक दलहरूले बिहीबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै डा. राउतले संघीयता अझै व्यवहारमा लागू नभएको, बरु पुरानै केन्द्रिकृत शासन प्रणालीजस्तै सिंहदरबारले नै सबैतहको सञ्चालन गरिरहेको गुनासो गरे।
‘अहिलेसम्म सीडीओ र एसपीले नै जिल्ला चलाइरहेका छन्,’ राउतले भने, ‘यो शासन त राजतन्त्रको तानाशाहीभन्दा पनि कम छैन।’ उनले सिंहदरबारबाट एकल ढंगले शासन चलाएर देश लुट्ने प्रवृत्ति रोक्न मोर्चाको गठन गरिएको जानकारी दिए।
‘हामी कुनै कृपाबाट होइन, ठूलो आन्दोलन र बलिदानपछि यहाँसम्म आएका हौं,’ उनले भने, ‘अब मोर्चा संघर्षमा उत्रिनेछ।’
मोर्चा गठनमा मुख्य भूमिका खेलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश अहिले गम्भीर संकटमा रहेको उल्लेख गरे। उनले मोर्चा कसैविरुद्ध नभई देशलाई नयाँ मार्ग दिने प्रयासका रूपमा निर्माण गरिएको बताए।
उनको आरोप थियो कि सरकार बिचौलियाहरूको हातमा पुगेको छ। ‘संविधानलाई लावारिस बनाउन खोजिएको छ,’ त्रिपाठीले भने, ‘हामीबाट पनि गल्ती भएका छन्, तर अब सच्याएर अघि बढ्नेछौं।’
उनले अब जिम्मेवार भएर अघि बढ्ने र गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए।



