सर्लाहीका विवेक मिश्रले १ वर्षमा ६ वटा लोकसेवा परिक्षामा सफलता प्राप्त गरी रचे नयाँ कीर्तिमान

सर्लाही – सर्लाहीका विवेक मिश्रले १ वर्षको छोटो समयमा लोकसेवाका ६ वटा परिक्षामा सफलता हासिल गरेर एक अनौठो कीर्तिमान बनाएका छन् । गोडैता नगरपालिका वार्ड नम्बर ८ का निवासी २१ वर्षीय विवेक मिश्रले आर्थिक वर्ष ०८१/०८२ मा लोकसेवाका विभिन्न ६ वटा परिक्षामा सहभागिता जनाएका थिए र सबैमा नाम सिफारिस गर्न सफल भएका छन् ।

विवेक मिश्रले दिएको ६ वटा परिक्षामा विभिन्न तहमा सफलता प्राप्त गरेका छन् । उनले प्रदेश लोकसेवा कार्यालय गण्डकीको परिक्षामा चौथो तह, खाद्य संस्थानमा चौथो तह, लोक सेवा आयोग जलेश्वरमा डिठ्ठा पद, प्रदेश लोक सेवा कार्यालय बागमतीमा पाँचौं तह, राष्ट्रिय अनुसन्धान विभागमा सहायक चौथो तह, र नेपाल टेलिकममा खुला मधेशी कोटाबाट चौथो तहमा नाम सिफारिस गराएका छन् ।

उनको यो सफलता सामान्य कुरा होइन। मध्यम वर्गीय परिवारबाट आएका विवेक मिश्रको कडा मेहनत, लगन, र अध्ययनमा दिइएको समयको परिणाम हो। सफलता कोचिंग सेन्टरका प्रशिक्षक सुरेश प्रसाद दासका अनुसार विवेक मिश्र निकै अनुशासित विद्यार्थी हुन्, जसले आफ्नो तयारीलाई स्पष्ट योजनामा आधारित बनाई सफलता प्राप्त गरेका छन् ।

सफलता कोचिंग सेन्टरकी संचालिका गीता आचार्यले भने, “विवेक मिश्रको सफलता अरु विद्यार्थीहरूलाई प्रोत्साहन दिनेछ।” उनले थपे, “मध्यम वर्गीय परिवारबाट आएका विवेकको यो सफलता सबैका लागि प्रेरणादायक छ ।”

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले विवेक मिश्रको यो सफलता गोडैता नगरपालिका र सर्लाही मात्र होइन, समग्र नेपालका लागि गर्वको विषय रहेको बताए। “उनले मात्र नगरपालिकाको, सर्लाहीको, बरु समग्र नेपालकै प्रतिष्ठा बढाएका छन्,” उनले भने।

नेपालमा लोकसेवा परिक्षा निकै चुनौतीपूर्ण मानिन्छ र एकै वर्षमा ६ वटा परिक्षामा नाम सिफारिस गर्नु असाधारण कुरा हो । विवेक मिश्रको यो सफलता अन्य विद्यार्थीहरूका लागि एक प्रेरणास्त्रोत बनेको छ र भविष्यका विद्यार्थीहरूलाई लोकसेवा तयारीमा प्रोत्साहित गर्ने विश्वास छ ।

यो उपलब्धि नेपालका युवाहरूसँगै समग्र समाजका लागि प्रेरणादायक बनिरहेको छ ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय