सर्लाही – सर्लाहीमा लागुऔषध कारोबारविरुद्ध प्रहरीले कारबाहीलाई तीव्र बनाउँदै लगेको छ। पछिल्ला दुई फरक घटनामा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ७६ वर्षीय वृद्धसहित दुई जना भारतीय नागरिक रहेका छन्।
पहिलो घटना बागमती नगरपालिका–१२, बथाने टोलमा भएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनबाट खटिएको संयुक्त प्रहरी टोलीले मानबहादुर बलको घरमा छापा मारेको थियो। खानतलासी गर्दा लुकाइ राखिएको १६ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। घरमै गाँजा लुकाएर बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड सम्हालेदेखि प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवले लागुऔषध कारोबारमा संलग्नहरूलाई कडाइका साथ निगरानी गर्दै आएका छन्। उनको नेतृत्वमा लगातार लागुऔषध कारोबारीहरू पक्राउ परिरहेका छन्।
दोस्रो घटना ईश्वरपुर नगरपालिका–१२ बाँके खोलाको ड्याममा भएको छ। बुधबार राति ८ बजे अस्थायी प्रहरी पोस्ट कालिन्जोर र इलाका प्रहरी कार्यालय केशगन्जको संयुक्त टोलीले बाँके खोलाको भित्री क्षेत्रबाट दक्षिणतर्फ आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सीतामढी सोनवर्षा थाना पञ्चायत इनरवाका शम्भु कुमार कुशवाह र २५ वर्षीय सञ्जय ठाकुर रहेका छन्। उनीहरू ज१२ ९०९९ नम्बरको मोटरसाइकलमा गाँजा बोकी ल्याउँदै थिए। प्रहरीले खानतलासी गर्दा प्लास्टिकले बेरिएको सात किलो २१० ग्राम गाँजा बरामद गरेको थियो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय केशगन्ज लगिएको छ।
सर्लाही प्रहरीले लागुऔषध कारोबार नियन्त्रणमा विशेष कडाइ गर्दै निगरानी बढाएको छ। पछिल्लो समय लगातार लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्, जसले जिल्लामा गाँजा र अन्य अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले कडा कदम चालेको देखिन्छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



