जनकपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकार अन्तर्गत विभिन्न योजनासम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । प्रदेश सरकारद्वारा खरिद गरिएका सफ्टवेयर र सुरक्षा उपकरणमा अनियमितता भएको आशंकामा आयोगले छानबिन अघि बढाएको हो ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा आर्थिक वर्ष ०७७/७८ मा निजामती पिआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम, जिन्सी अटोमेसन सिस्टमलगायतका सफ्टवेयर खरिद गरिएका थिए । तर ती सफ्टवेयर अहिलेसम्म प्रयोगमा नरहेको र स्टोरमा समेत दाखिला नगरिएको एक कर्मचारीले जानकारी दिए । खरिद भएका सफ्टवेयरका लागि एक करोडभन्दा बढी रकम खर्च गरिएको थियो ।
सफ्टवेयर खरिद तथा सुरक्षा उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको बर्दिवास कार्यालयले छानबिन थालेको हो । कार्यालय प्रमुख रामबहादुर कुरुम्बंगका अनुसार सम्बन्धित योजनाका फाइलहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ । अख्तियारले प्रारम्भिक छानबिनपछि दोषी पत्ता लागे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।



