जनकपुरधाम, १८ चैत – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित दर्ताविहीन रूपमा सञ्चालनमा रहेको जनकपुर सिता हस्पिटलका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई अस्पताल दर्ता नगरी सञ्चालन गर्दै मापदण्ड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।
गत माघ २६ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा सो अस्पताल दर्ताविहीन रहेको पत्ता लगाएका थिए। उनले तत्काल दर्ता गरी सञ्चालन गर्न निर्देशन दिएपछि केही समय अस्पताल बन्द गरिएको थियो। तर, पछिल्लो समय पुनः सञ्चालनमा ल्याइए पनि बाहिर ‘अनिश्चितकालका लागि बन्द’ भन्ने बोर्ड राखेर भित्र उपचार भइरहेको फेला परेको थियो।
मुख्यमन्त्री सिंह आज एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा अस्पताल पुनः सञ्चालनमा रहेको देखेपछि भित्र छिरेका थिए। त्यहाँ पाँच जना बिरामी उपचाररत रहेको पाएपछि उनले प्रहरीलाई बोलाएर म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गराएका थिए।
प्रहरीका अनुसार अस्पताल सञ्चालक डा. प्रमोद यादवसहित अन्य पाँच जना समेत अनुसन्धानको दायरामा परेका छन्। हाल प्रहरीले थप अनुसन्धान जारी राखेको छ।



