काठमाडौं – गत शुक्रबार राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो। तीनकुने क्षेत्रमा प्रहरीको अश्रुग्यास र गोली चलाएपछि राजावादी समर्थक तितरबितर भए, र केही प्रदर्शनकारीहरूले मिनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरे।
सुरुआतमा, भाटभटेनीका मालिक मिनबहादुर गुरुङले ७५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका थिए, जसमा घडी, मोबाइल, फलफूल, जुस, वियर र रक्सी जस्ता सामानको लुटपाट भएको बताए। तर, सामाजिक सञ्जालमा यस दाबीको तीव्र आलोचना भएको छ। धेरैले भने, यसरी ठूलो क्षति सम्भव छैन र मिनबहादुरले बढी क्षतिको विवरण देखाएर बिमाको क्लेम गर्ने प्रयास गरेको अनुमान गरे।
भाटभटेनीले भने अब क्षतिको नयाँ आंकलन सार्वजनिक गर्दै ८० लाखभन्दा बढीको क्षति भएको भनाइ दिएको छ। भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँको सामान लुटपाट भएको छ। यसका अतिरिक्त, भाटभटेनीका बाहिरी भागमा रहेका सिसा फुटेका छन्, जसबाट ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। साथै, अन्य सामग्रीमा दुई लाख ६५ हजार रुपैयाँ र काउन्टरमा रहेको ९४ हजार रुपैयाँ लुटिएको पाइएको छ।
अहिलेसम्म प्रहरीले लुटपाट र तोडफोडमा संलग्न १६ जनालाई पक्राउ गरेको छ र अन्य दोषीहरूको खोजी जारी राखेको छ।



