पाकिस्तान – पाकिस्तानको पेशावर शहरमा इस्लाम धर्म स्वीकार गर्न अस्वीकार गरेको आरोपमा एक हिन्दू पुरुषको गोली हानी हत्या गरिएको छ। बीबीसी हिन्दीको रिपोर्ट अनुसार, मृतक ५६ वर्षीय नदीम अमिन पेशावरको पोस्टल कोलोनी क्षेत्रमा बसोबास गर्दै आएका थिए र सरकारी संस्थामा सफाई कर्मचारीका रूपमा कार्यरत थिए।
शनिबार राति काम सकेर घर फर्किने क्रममा नदीममाथि आक्रमण भएको थियो। अभियुक्त मुश्ताक नामका व्यक्तिले उनलाई नजिकैबाट टाउकोमा गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना लगत्तै अभियुक्त भाग्न सफल भए पनि विशेष प्रहरी टोलीले २४ घण्टाभित्र चारसद्दा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
एफआईआरका अनुसार, मुश्ताकले विगत दुई–तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन दबाब दिइरहेका थिए। नदीमले इस्लाम धर्म स्वीकार गर्न अस्वीकार गरेपछि मुश्ताकले उनलाई गोली हानेका थिए।
घटनापछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो। भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातका अनुसार, पक्राउ परेपछि मुश्ताकले अपराध स्वीकार गरिसकेका छन्।
यस घटनाले पाकिस्तानमा धार्मिक सहिष्णुताको विषयमा गम्भीर चिन्ता उत्पन्न गराएको छ। अल्पसंख्यक समुदायमाथि हुने हिंसा र जबरजस्ती धर्म परिवर्तनको घटनालाई लिएर मानवअधिकारकर्मीहरूले कडा विरोध जनाएका छन्।



