हरिवन कृषि प्रदर्शनीमा ३.५ करोडको कारोबार, ३० हजार दर्शकले गरे अवलोकन

सर्लाही : सर्लाहीको हरिवनमा आयोजित तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। हरिवन नगरपालिकाले “मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान” भन्ने नारासहित वडा नं. ११ स्थित सुर्ति विकास चौरमा चार दिने प्रदर्शनी आयोजना गरेको थियो ।

शनिबार सम्पन्न उक्त प्रदर्शनीमा साँढे तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको दाबी नगर प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले गरेका छन्। मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश दुग्ध विकास बोर्डको समन्वयमा आयोजित प्रदर्शनीमा झन्डै ३० हजार जनाले अवलोकन गरेका थिए ।

प्रदर्शनी समापन समारोहमा नगर प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षता तथा मधेश प्रदेशका कृषि सचिव डा. उमेश दाहालको प्रमुख आतिथ्य रहेको थियो। समापन कार्यक्रममा ५८ जना कृषि उद्यमीसहित अन्य व्यक्तिहरूलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।

समितिका संयोजक एवं हरिवन नगरपालिका–४ का वडाध्यक्ष केशवराज थापाका अनुसार प्रदर्शनीमा कृषिमा भित्रिएको नयाँ प्रविधिको अवलोकन गर्न पाउँदा किसानहरूमा आधुनिक कृषि औजार तथा प्रविधिप्रति आकर्षण बढेको छ। साथै, प्रदर्शनीमा माटो तथा गोबर परीक्षण शिविर, कृषिविज्ञसँग अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिएकाले किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुगेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय