सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका – ७ निवासी केसव सिंहले नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रलाई फ्यूज सेवा सञ्चालनका लागि करिब ६० लाख रुपैयाँ मूल्य बराबरको ३० धुर जमिन दान गरेका छन् । सिंहले विद्युत विकासमा योगदान दिने उद्देश्यले उक्त जमिन प्रदान गरेको बताएका छन् ।
वितरण केन्द्र प्रमुख त्रिभुवन कुमार यादवका अनुसार प्राप्त जमिन प्रारम्भिक रूपमा फ्यूज सेवा सञ्चालनका लागि प्रयोग गरिनेछ भने भविष्यमा प्राधिकरणको प्र. शाखाका रूपमा विकास गर्ने योजना रहेको छ ।
ईश्वरपुर नगर क्षेत्रमा मात्रै करिब १३ हजार ग्राहक रहेका छन् भने औद्योगिक लाइन विस्तारको काम पनि भर्खरै सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ ईश्वरपुरका सचिव सन्तोष रायले विद्युत सेवाको गुणस्तर सुधारमा यस जमिन दान ऐतिहासिक उपलब्धि भएको बताएका छन् । हाल यस क्षेत्रमा ५३ वटा उद्योग सञ्चालनमा रहेका छन्, जसका लागि गुणस्तरीय विद्युत सेवा आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् ।
विद्युत प्राधिकरणले प्राप्त जमिनमा भवन निर्माणका लागि माथिल्लो निकायमा प्रस्ताव पठाउने तयारी गरिरहेको जनाएको छ ।




