प्रहरीमा एसपीको सरुवा मापदण्ड संशोधनपछि मात्र संभव

काठमाडौं । नेपाल प्रहरीका दर्जनभन्दा बढी जिल्ला प्रहरी प्रमुख (एसपी) को कार्यकाल १४ महिना नाघिसक्दा पनि सरुवा प्रक्रियामा अन्योल देखिएको छ। झापा, रुपन्देही, कञ्चनपुर, कैलाली, काभ्रेलगायतका जिल्लाका एसपीहरु तोकिएको समयभन्दा बढी बसिरहेका छन्, तर सरुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

अवकाश नजिक रहेका पूर्वआईजीपी बसन्तबहादुर कुँवरले सरुवा प्रक्रिया अघि बढाउन सकेनन् भने हालका आईजीपी दीपक थापाले पनि तत्काल निर्णय लिन नसक्ने अवस्था देखिएको छ।

स्रोतका अनुसार सरुवासम्बन्धी मापदण्डमा संशोधनको तयारी भइरहेको छ। केही शक्तिशाली प्रहरी अधिकृतहरुको स्वार्थका कारण सरुवामा चलखेल भइरहेकाले यसमा ढिलाइ भएको बताइएको छ।

हालको मापदण्ड अनुसार बढुवा भएपछि ‘क’ वर्गको कार्यालयमा तत्काल जान नपाइने र एकपटक मात्र ‘क’ वर्गमा काम गर्ने व्यवस्था छ। तर, पहिल्यै तराईमा कार्यरत एसपीहरु पुनः त्यही क्षेत्रमा जान चाहेका छन्, जसका लागि उनीहरुले राजनीतिक लबिइङसमेत गरिरहेका छन्।

यसै सन्दर्भमा, एसपी कोमलविक्रम शाह लगायतका अधिकृतहरुले मापदण्ड परिवर्तन गराउने प्रयास गरिरहेका छन् भने केही डिएसपीहरुले समेत यसमा चासो देखाएका छन्।

प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई पत्राचार गर्दै मापदण्ड संशोधनबारे सुझाव मागिसकेको छ। संशोधनको क्रममा वर्गीकरण प्रणालीसमेत परिमार्जन गरिने बताइएको छ।

यसअघि आईजीपी रहेका बसन्तबहादुर कुँवरले पनि मापदण्ड संशोधनको दबाब सामना गरे। तर, उनले आफैंले बनाएको नियमको विपरीत संशोधन नगर्ने अडान लिए। आईजीपी परिवर्तन भएसँगै पुनः मापदण्ड परिमार्जनको प्रक्रिया अघि बढेको छ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय