सिरहा : सिरहामा महायज्ञका क्रममा दलित परिवारमाथि भएको ज्यादतीको विवादपछि सुरक्षा प्रशासनमा व्यापक हेरफेर गरिएको छ। आफुलाई राष्ट्रपति रामचन्द्र पौडेलको ज्वाइँ भनेर चिनाउँदै आएका सिरहाका एसपी रमेश पण्डितलाई मंगलबार जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाई हेडक्वाटर तानिएको छ।
उनको ठाउँमा पोखरास्थित गणमा कार्यरत एसपी अनन्तराज शर्मा सिरहा पठाइएका छन्। यसअघि शुक्रबार सिरहाका सीडीओ बासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो भने उनको ठाउँमा कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याल नियुक्त भएका छन्।
यसैबीच, एसपी पण्डितलाई हटाएको २४ घण्टा नपुग्दै इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीलाई पनि जिम्मेवारीमुक्त गरिएको छ। उनको स्थानमा डीएसपी हिरेन्द्र रोकायलाई पठाइएको छ।
सिरहाको सुरक्षा व्यवस्थामा लगातार भइरहेको यस्ता परिवर्तनले प्रशासनिक क्षेत्रमा चासो बढाएको छ।



