काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुपर्ने मागसहित कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेका कारण सिंहलाई पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार कारबाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। साथै, पार्टी नीतिविपरीत कार्य गरेको भन्दै जिल्ला उपसभापति, क्षेत्रीय सभापतिहरूसहितका पदाधिकारीहरूले उनको राजीनामा माग गरेका छन्।
यसैक्रममा, सभापति सिंहले गुटबन्दी गरेको, संगठन सञ्चालनमा निष्पक्षता नअपनाएको र कार्यकर्ताहरूलाई विभाजन गर्ने प्रयास गरेको आरोपसमेत उनीहरूले लगाएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई दुई बुँदे निवेदन बुझाउँदै, प्रदर्शनकारीहरूले सिंहलाई बर्खास्त गर्न आग्रह गरेका छन्।



