महोत्तरीमा युवकको विभत्स हत्या, श्रीमतीको संलग्नतामा शंका

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनस्थित रेल्वे ट्रयाकमा फेला परेको शव धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्पुरका २५ वर्षीय शिवशंकर महतोको भएको खुलेको छ। डेढ महिनाअघि मात्र भारतको मुम्बईबाट घर फर्किएका शिवशंकरको विभत्स हत्या भएको महोत्तरी प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

हत्या वा दुर्घटना?
शिवशंकरको शव गत ८ गते साँझ भेटिए पनि शनिबार मात्र उनको पहिचान खुलेको थियो। प्रहरीका अनुसार शव नांगो अवस्थामा थियो र धारिलो हतियार प्रयोग गरेर शरीरका विभिन्न भागमा काटिएको देखिन्थ्यो। घटनास्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

श्रीमतीको भूमिकामाथि शंका
मृतकका काका रामकुमार महतोले शिवशंकरकी श्रीमती सिर्जनामाथि हत्या गराएको आरोप लगाएका छन्। उनका अनुसार शिवशंकर गरिब परिवारका थिए, घरमा श्रीमतीसँग प्रायः झगडा हुने गरेको थियो। श्रीमतीले बारम्बार आफूलाई डेरामा राख्न वा बाहिर बस्न दबाब दिँदै आएकी थिइन्।

रामकुमारका अनुसार हालै सिर्जनाका पिताको मृत्यु भएपछि उनले शिवशंकरलाई जबरजस्ती ससुराली लगिन्। महेन्द्रनगरको बीच बाटोबाट अर्कोतर्फ पठाएर हत्या गराएको उनले दाबी गरे। घटनास्थल नजिककैको सीसीटीभी फुटेजमा श्रीमती सिर्जनाले दुईवटा मोटरसाइकल ‘स्ट्यान्डबाई’ अवस्थामा राखेको देखिएको छ। बच्चासहित महेन्द्रनगर पुगेका शिवशंकरलाई सिर्जनाले एक मोटरसाइकलमा चढाएर अर्कै दिशामा पठाएको फुटेजमा देखिन्छ।

शव भेटिएपछि मात्र थाहा भयो
रामकुमारका अनुसार परिवारका सदस्यहरू शिवशंकरलाई ससुरालीमै रहेको ठानिरहेका थिए। तर, शुक्रबार दिउँसो महोत्तरी प्रहरीले शव पहिचानका लागि उनका परिवारलाई बोलाएपछि मात्र उनीहरूलाई शिवशंकरको मृत्युको खबर थाहा भयो।

हालसम्म प्रहरीमा औपचारिक जाहेरी नपरेको भए पनि जाहेरी आएपछि थप अनुसन्धान गरिने महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवालले बताएका छन्। घटनाको गहिरो अनुसन्धान भइरहेको छ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय