सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–२, रेल्वे ट्रयाक नजिकैबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनामा गाउँपालिका–२, निवासी ३५ वर्षीय रामपुजन साह सुुढी रहेका छन्।
लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा परिचालित प्रहरी टोलीले नवलपुरस्थित रेल्वे ट्रयाकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनी ज.१२ प ६१२१ नम्बरको मोटरसाइकलमा महोत्तरीको बर्दिवासबाट सर्लाहीको डाबरीतर्फ लागुऔषध बोकेर जाँदै गरेका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक सुजन पाठकका अनुसार साहको साथबाट ६५ बोतल वनरेक्स (१०० एमएल) र १४४ ट्याब्लेट स्पास्मो–प्रोक्सिभन प्लस बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी साहलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



