काठमाडौं । नेपाल प्रहरीको नेतृत्व व्यवस्थापनमा संकट उत्पन्न भएको छ । देशभरका तीन प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन बनेका छन् भने अन्य चार प्रदेशका डीआईजीहरू बढुवाको दौडधुपमा लागेका कारण निमित्तका भरमा कार्यालय संचालन भइरहेको छ ।
हाल नेपाल प्रहरीमा रिक्त रहेका ६ एआईजी पदका लागि डीआईजीहरू काठमाडौंबाट शक्ति केन्द्र धाउँदै छन् । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका डीआईजीहरू बिदामा बसेर नेताहरूसँग दौडधुपमा व्यस्त छन्, जसका कारण प्रदेश तहमा सुरक्षामा असर परेको छ ।
बढुवाका लागि १६ डीआईजी प्रतिस्पर्धामा रहेका छन् । वरिष्ठताका आधारमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा प्रमुख प्रतिस्पर्धी मानिएका छन् भने अन्य प्रतिस्पर्धीहरूमा दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी लगायतका डीआईजीहरू छन् ।
यसपटकको एआईजी बढुवाले भावी आईजीपीको भविष्य निर्धारण गर्ने भएकाले शक्ति केन्द्रहरूमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । यद्यपि नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले निष्पक्ष मूल्याङ्कनका आधारमा चाँडै बढुवा गरिने आश्वासन दिएका छन् ।
डीआईजीको बढुवामा पनि प्रतिस्पर्धा तीव्र बनेको छ । रिक्त १० पदका लागि अघि बढेका उम्मेदवारहरूमा यसअघि छुटेकासँगै विश्व अधिकारी, सानुराम भट्टराई, भूपेन्द्र खत्री, ओम अधिकारी लगायतका नाम चर्चामा छन् ।
बढुवाको रस्साकस्सीका कारण प्रदेश तहमा तस्करी र सुरक्षामा असर परेको प्रहरी स्रोत बताउँछ । अबको बढुवा प्रक्रियाले नेपाल प्रहरीको भविष्यलाई कतातर्फ लैजान्छ भन्ने चासो बढेको छ ।



