मलंगवा : सर्लाही सदरमुकाम मलङ्गवास्थित सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुजितकुमार यादव सभापतिमा निर्वाचित भएका छन्। नेपाल समाजवादी विद्यार्थी युनियन, जनमत विद्यार्थी संगठन र यादव समूहको संयुक्त प्यानलबाट उम्मेदवार बनेका उनले ६२४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
प्रतिस्पर्धामा रहेका अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च, लोकतान्त्रिक विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन नेपालको संयुक्त विद्यार्थी संगठनबाट उम्मेदवार बनेका अनेरास्ववियुका कृष्णकुमार यादवले ३९५ मत प्राप्त गरे। नेपाली कांग्रेस निकट नेविसंघबाट पार्टीको संस्थापन पक्षका धीरज दाहा पनि प्रतिस्पर्धामा थिए, तर उनले १७६ मत मात्र प्राप्त गरे।
यसअघिको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघबाट सभापतिको उम्मेदवार रहेका सुजितकुमार यादवलाई यस पटक कांग्रेसको संस्थापन इतर पक्ष (लक्ष्मण राय समूह) ले समर्थन दिएको थियो। साथै, जनता समाजवादी पार्टी (जसपा नेपाल) का मधेश प्रदेशसभा सदस्य सन्जय यादवको समूहले पनि उनलाई सहयोग गरेको थियो। प्रदेश सांसद यादव बिजयी ¥यालीमा समेत सहभागी भएका थिए।
स्ववियुको अन्य पदमा पनि सुजितकुमार यादव नेतृत्वको समूहको वर्चस्व कायम रह्यो। सचिव पदमा सोही समूहका रौशनकुमार यादव ६०० मतसहित विजयी भए भने कोषाध्यक्षमा नितुकुमारीले ५८० मत प्राप्त गर्दै सफलता हासिल गरिन्।
मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा तीन हजार २४९ मतदाता रहे पनि मतदानमा उत्साह देखिएन। केवल १,३६७ जनाले मात्र मतदान गरे। मंगलबार राति विवाद उत्पन्न भएपछि केही घण्टा रोकिएको मतगणना अन्ततः बुधबार दिउँसो पूरा भएको निर्वाचन समिति संयोजक कृपानाथ झाले जानकारी दिए।



