सर्लाहीमा पेट्रोल पम्पको मनपरी: उपभोक्ता ठगिएको गुनासो, अनुगमन शून्य

सर्लाही : सर्लाहीका पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल कम परिमाणमा दिएर ठग्ने गरेको गुनासो आएको छ । उपभोक्ताहरूका अनुसार पेट्रोल तथा डिजेल लिँदा प्रति लिटर ३० देखि ५० मिलिलिटर कम दिइने गरेको पाइएको छ ।

नापतौल विभाग, स्थानीय तह र प्रशासनको प्रभावकारी अनुगमन नहुँदा पेट्रोल पम्प सञ्चालकहरूले मनोमानी गर्दै आएको उपभोक्ताहरू बताउँछन् । स्थानीय तहमा गुनासो गरिए पनि कारबाही प्रक्रिया अघि नबढेको गुनासो छ ।

हरिवन नगरपालिका–१ का रबिन्द्र महतोका अनुसार ५ लिटरको जारमा तेल लिँदा करिब २५० मिलिलिटर कम पाइन्छ । यसबारे स्थानीय प्रशासन र नापतौल विभागले समयमै अनुगमन नगर्दा उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पम्पहरूको अनुगमनका लागि नापतौल विभागको प्राविधिक टोली आवश्यक पर्ने भएकाले ढिलाइ भएको बताए । तर, उपभोक्ता संरक्षण ऐनअनुसार ठगी प्रमाणित भएमा कडा कारबाही हुने चेतावनी दिए ।

पेट्रोल पम्प सञ्चालकहरूले भने नापतौल विभागको आधिकारिक सिलबन्दी भएका कारण उपभोक्ता ठग्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । तर, स्थानीय उपभोक्ताहरूले लगातार पेट्रोलियम पदार्थमा कम परिमाण पाइरहेको भन्दै तत्काल अनुगमन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय