डीआईजीकै सेटिङमा तस्करी, लाखौं असुलेर छाडियो ट्रक !

हेटौंडा । राजस्व घट्दा प्रशासनिक खर्च पनि नधान्ने अवस्थामा देश पुगेको छ । तर, नाकाहरुबाट भने तस्करी रोकिएको छैन । उच्च तहकै सेटिङमा कसरी तस्करी भइरहेको छ भन्ने उदारण शुक्रबार मकवानपुरमा देखियो ।

प्रहरी चौकी रातमाटेले बिहान ना.७ ख ९४२८ नम्बर ट्रक नियन्त्रणमा लियो । ट्रकमा तस्करीका कपडा लगायत खुद्रा सामान थिए । तर, प्रहरीले ट्रक भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाएन ।

दिउँसो १२ बजे छाडियो । प्रहरी चौकी रातमाटेका हवल्दार विनय चौधरीले एक लाख ६० हजार रुपैयाँ असुलेर ट्रक छाडेको स्रोत बताउँछ ।

हवल्दारले सेटिङ मिलाएर यसरी ट्रक छाड्नु अस्वभाविक लाग्न सक्छ। तर, उनी सामान्य हवल्दार होइनन् । बागमती प्रदेशका प्रहरी डीआईजी कृष्णहरी शर्माका घुमुवा हुन् ।

जसकारण चौकीमा असई प्रमुख भएपनि हवल्दार चौधरीकै हालिमुहाली चल्छ । स्रोतका अनुसार हवल्दार चौधरीले सेटिङ मिलाएपछि डीआईजीले नै निर्देशन दिएर सो ट्रक छाडिएको हो ।

मकवानपुरका एक प्रहरी भन्छन,‘आज बिहान ७ बजेबाट १२ बजेसम्मको सिसिक्यामेरा हेर्ने हो भने सेटिङको सबै धन्दा पर्दाफास हुन्छ ।’ यस्तो धन्दा दैनिक जसो चलिरहेको छ ।

सो ट्रक वीरगञ्ज नाकाबाट सेटिङ मिलाएर भित्रिएको हो । जसकारण मकवानपुरमा पनि पाँच घन्टामै छुटेको हो।
रातमोट चौकी इलाका प्रहरी कार्यालय पशुपतिनगर अन्र्तगत पर्दछ।

तर, सो चौकीलाई निर्देशन दिने अधिकार इप्रकालाई छैन । पछिल्लो समय तस्करीको लाइन खुलाइएकाले सिधैं डीआईजी कृष्णहरी शर्मा र मकवानपुरका एसपी विश्वराज खड्काको निर्देशनमा गाडी समाउने र छाड्ने काम हुने गरेको छ ।

इप्रका पशुपतिनगरमा हाल इन्सपेक्टर बिमला कठायत छिन्। रातमाटेमा चेकजाँचमा जाँदा किन त्यहाँ गएको भनेर उनलाई एसपी र डीआईजीले गाली गर्ने गरेको समेत प्रहरी स्रोत बताउँछ ।

डीआईजी शर्माले विभिन्न नाकामा घुमुवाहरु खटाएर तस्करीको लाइन मिलाएको खुलेपछि हालै प्रहरी प्रधान कार्यालयले समेत छानविन गरिरहेको छ । त्यसपछि उनले केही घुमुवा फिर्ता गरेका छन् ।

तर, अझै पनि मुख्य नाकामा घुमुवा राखेर उनले असुली धन्दा चलाइरहेको स्रोत बताउँछ । उनले खटाएका कतिपय प्रहरी त गाँजा र चरेशको तस्करीको समेत लाइन मिलाउन सक्रिय रहेको प्रहरी अधिकारी बताउँछन् ।

आईजीपी बसन्त कुँवर समेत अवकाशमा जान लागेकाले यही मौका छोपेर नाकाहरुमा तस्करी मौलाएको हो।

अनलाईन नेपाल बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय