सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका – ३ को वडा कार्यालयमा आज स्थानीय एक समूहले तालाबन्दी गरेको छ । स्थानीय जनता आधारभूत विद्यालयमा भवन निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित बजेटमा काम गराउन कार्यादेश लिन जाँदा वडा कार्यालयले पत्र दर्ता नगरिदिएको भन्दै रवीन्द्र यादव नेतृत्वको समूहले तालाबन्दी गरेको हो ।
विद्यालय भवन निर्माणका लागि प्रदेश सरकारको शिक्षा मन्त्रालयले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, सोही बजेटबाट काम गर्न खोज्दा वडा अध्यक्षले कार्यादेश नदिएको भन्दै आन्दोलित पक्षले विरोध जनाएको छ । एक हप्तादेखि पत्र दर्ताका लागि वडा कार्यालय धाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै आन्दोलनकारी आक्रोशित भएका छन् ।
यसैबीच, बरहथवा–३ का वडा अध्यक्ष नन्दकिशोर महतोले समस्या समाधान गर्न पहल भइरहेको बताएका छन् । उनले भोली नै समाधान गर्दै वडा कार्यालयको तालाबन्दी खुलाउने प्रतिबद्धता जनाएका छन् ।



