सर्लाही, फागुन २० – सर्लाहीको मलंगवामा नक्कली नेपाली नोट र चोरीका औजार सहित सोमबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नपा – ९ र १० मा भाडामा बस्दै आएका दिपेश यादव, अर्जुन महतो र विवेक सिंह महतोको कोठामा छापा मारेको थियो ।
प्रहरीले खानतलासी गर्दा उनीहरूको कोठाबाट नक्कली नेपाली नोट रु. १,००० दरका ९८ थान (जम्मा रु. ९८,०००) बरामद गरेको छ। त्यस्तै, भारतीय रुपैयाँ ३०,००० र चोरी गर्न प्रयोग हुने विभिन्न फलामका औजार समेत फेला परेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नक्कली नोट कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप अनुमति समेत लिइ अनुसन्धान भइरहेको छ । प्रहरीले यो गिरोहसँग अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंका गर्दै थप अनुसन्धान जारी राखेको छ ।



