सर्लाही, फागुन २० – सर्लाहीको बागमती नगरपालिका–११ स्थित चेक प्वाइंटमा प्रहरीले शंकास्पद बिलसहित १० टन लसुन लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख.०९९४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा लोड गरिएको लसुनको बिल शंकास्पद देखिएपछि ट्रकसहित नियन्त्रणमा लिएको हो ।
उक्त लसुनको अनुमानित बजार मूल्य रु. १७,१७,६००/- (सत्र लाख सत्र हजार छ सय) रहेको छ । प्रारम्भिक अनुसन्धानपछि ट्रक र लसुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले अवैध रूपमा हुने सामान ओसारपसार तथा करछली रोक्न चेकजाँचलाई थप कडा पार्ने जनाएको छ । चोरीनिकासी तथा करछलीका गतिविधि नियन्त्रण गर्न निगरानी बढाइने समेत प्रहरीले जानकारी दिएको छ।



