स्ववियु निर्वाचनको तयारी पूरा: सर्लाहीका क्याम्पसमा सङ्घ–सङ्गठन दर्ता सम्पन्न

सर्लाही, २० फागुन – आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सर्लाहीका तीन प्रमुख क्याम्पसमा सोमबार सङ्घ–सङ्गठन दर्ता प्रक्रिया सकिएको छ । त्रिभुवन विश्वविद्यालयका मातहत रहेका सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा सो दर्ता कार्य सम्पन्न भएको हो ।

सर्लाही क्याम्पस मलङ्गवामा ११ वटा विद्यार्थी सङ्घ–सङ्गठन र समूह दर्ता भएका छन् । क्याम्पसका स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाका अनुसार दर्ता भएका सङ्घ–सङ्गठन र समूहसँग मंगलवार सर्वपक्षीय छलफलको आयोजना गरिने छ ।

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पाँच वटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएको क्याम्पसका स्ववियु निर्वाचन समिति संयोजक हरिलाल मैनालीले जानकारी दिएका छन् ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा भने सबैभन्दा कम चार वटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका छन् । समितिका संयोजक शिवहरि नेपालका अनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (समाजवादी) र अखिल क्रान्तिकारी दर्ता भएका छन् ।

चैत ५ गतेको निर्वाचनमा दर्ता भएका सङ्घ–सङ्गठनका विद्यार्थी मात्रै उम्मेदवारी दिन पाउनेछन् । उम्मेदवारको मनोनयन दर्ताका लागि २५ फागुनका लागि समय छुट्याइएको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय