आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भइसकेकाले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन माग गरेका छन् । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड)मा प्रधानमन्त्री आफैँ फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् ।
आज (सोमबार) काठमाडौंमा मिडिया सेन्टरद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै साहले सरकारको नेतृत्वकर्ता नै फेल भएपछि सरकारमा कुन मोरल लिएर बस्न सकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । उनले भने, ‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आफैँ फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढी मन्त्री नै फेल भएका छन् । यो फेलियरहरूको सरकार पुष्टि भइसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशत मात्रै अंक आएको छ ।
साहले अहिले सत्तागठबन्धनमा समेत कलह देखिएको दाबी गरे । उनले देश दलतन्त्रको दलदलमा फसेको र मुलुक महासंकटमा पुगेको गम्भीर आरोप लगाए । साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयं प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । उनले अहिलेको सरकारको व्यवहारको कारण जनताको हाल बेहाल भएको र मुलुक दिनानुदिन असफल राष्ट्रको यात्रामा अघि बढेको गम्भीर आरोप लगाए । उनले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अहिले ठुलो विचलन र संकट आएको दाबी गरे ।
पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए । उनले भने, ‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँका अघि हामी सांसदहरूको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन । उहाँ संसद्, संविधान र सडक मास्न उद्यत् हुनुहुन्छ । संसद् छलेर अध्यादेशको शासनको आतंक मच्चाउनुभएको छ, तर आफैँले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन् । अध्यादेश पारित गराउने सामान्य बहुमत पनि नभएको कुरा पुष्टि भइसकेको छ, नत्र एक महिना बितिसक्दा पनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेस हुन सकेन ? म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुईतिहाइ कता गायब भयो ?’
उनले अहिलेको सरकार सातबुँदे सहमतिको जगमा बनेको भनिएको उल्लेख गर्दै सात महिना व्यतित हुँदा पनि चालू आर्थिक वर्षमा सात खर्ब पनि राजस्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए । उनले भने, ‘यो सरकार आर्थिक रूपमा पूरा असफल भइसकेको छ । सात महिना भयो, तर सात खर्ब पनि राजस्व संकलन गर्न सकेन, आफैँले लिएको लक्ष्य भेट्टाउन नसक्ने सरकार कसरी सफल हुन्छ ? कसरी देशको विकास हुन्छ ? पुँजीगत खर्चको त्यस्तै हाल बनाइएको छ, माघसम्म एक खर्ब १८ अर्ब ४० करोड खर्च गर्ने लक्ष्य राखेको यो सरकारले जम्मा ६८ अर्ब ४१ करोडमात्रै पुँजीगत खर्च गरेको छ ।’ भ्रष्टाचारले भव्यता मनाएको र सुशासन सुनसान बनेको भन्दै अहिलेको सरकारबाट विकास र समृद्धिको कल्पना गर्नसमेत नसकिने साहको आरोप छ ।
साहले अध्यादेश पारित गराउन सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे । उनले सत्तागठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन् ।
उनले भने, ‘सरकार यति निर्लज्ज भएकै हो त ? अध्यादेश पारित नहुने भएपछि सांसद किनबेचमा लाग्ने ? यो गम्भीर अपराध हो । अहिलेको २१औँ शताब्दीमा जनप्रतिनिधिलाई किन्ने भन्ने कुरा कत्तिको शोभनीय हुन्छ ? यति गम्भीर आरोप सार्वजनिक हुँदा पनि सरकारमा भएकाहरूले अहिलेसम्म मुख खोलेका छैनन्, म सरकारको नेतृत्वकर्ता र सत्तासहकार्यमा रहेको कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी र यसका नेताहरूको जवाफ माग्दछु । आरोप मात्रै हो भने त्यसको पनि सत्यतथ्य बाहिर आओस्, र जवाफदेहिता देखाइयोस् ।’ उनले अहिले अध्यादेश सरकारा लागि गलपासो बनेको आरोप लगाए । साहले अहिलेको प्रधानमन्त्री ओलीबाट संसद्, संविधान र सडक सुरक्षित नभएको आरोप लगाए ।
उनले नेपालको विदेश सम्बन्ध बिस्तारै बिग्रिरहेको आरोप लगाए । भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशा लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको टिप्पणी गरे । भारतसँगको संवाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे ।
- नया पत्रिकाबाट साभार



