सर्लाही, फागुन १७ – सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा शुक्रबार राति सुरुङ खनेर पाँच घरमा संगठित चोरी भएको छ । श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा नगद, गरगहना तथा अन्य सरसामान चोरी भएको हो ।
पीडितका अनुसार चोर समूहले सुरुङ खनेर घरभित्र प्रवेश गरेका थिए । केही स्थानीयले अज्ञात व्यक्तिहरूले नसालु पदार्थ प्रयोग गरी लुटपाट गरेको बताएका छन् । चोरी गरिएका सामानमध्ये केही खेतमा फालिएको अवस्थामा फेला परेको छ ।
साथै, माघ २९ गते बसबरिया गाउँपालिका र हालै मलङ्गवाको जिविस चौकमा भएका चोरीका घटनाहरूले जिल्लामा चोरीका घटना बढ्दै गएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार घटनाको अनुसन्धान जारी छ र संलग्न व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ ।



