सर्लाही, १७ फागुन – भारतबाट अवैध रूपमा लागुऔषध ल्याउँदै गरेका दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको टोलीले मलंगवा नगरपालिका–१०, प्लाइ फ्याक्ट्री अगाडि शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट Nitrazepam Tablet IP 10 mg लेखिएको ११३ पत्ता (११३० ट्याबलेट) फेला पारेको हो।
पक्राउ पर्नेहरूमा इश्वरपुर नगरपालिका–३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका–३ बस्ने २८ वर्षीय मनोज कुमार महतो रहेका छन्।
उनीहरू साइकलमा भारतबाट औषधि लुकाई ल्याउँदै गरेको अवस्थामा प्रहरी निरीक्षक रोजेश सिंह नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो। उक्त औषधि लागुऔषध सूचीमा पर्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ।
प्रहरीका अनुसार भारतबाट लागुऔषध तस्करी गरी नेपालमा बिक्री गर्ने गिरोह सक्रिय रहेकाले निगरानी बढाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।



