रौतहट : रौतहट जिल्लाका विभिन्न सीमा नाकाहरूबाट तस्करी तीव्र रूपमा बढेको छ। पछिल्ला दिनहरूमा गौरस्थित सशस्त्र प्रहरी बलको गुल्मबाटै तस्करीको संगठित रूपमा सञ्चालन भइरहेको खुलासा भएको छ। भारतबाट कपडा, माछा, चिनी, खानेतेल, हार्डवेयर लगायतका सामग्री भन्सार छली नेपाल भित्र्याइँदै आएको छ भने नेपालबाट मदिरा तस्करी गरी भारत पठाउने कार्य व्यापक रूपमा भइरहेको छ।
बिहार सरकारले मदिरा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रहरूबाट दैनिक हजारौँ कार्टुन मदिरा भारत पठाउने क्रम बढेको छ। बेलबिछवा, लक्ष्मीपुर, औरेया, बंकुल लगायतका नाकाहरू तस्करीका मुख्य मार्ग बनेका छन्। साना पोके तस्करदेखि ठूला संगठित गिरोहसम्म सक्रिय रहँदा राज्यलाई करोडौँको राजस्व नोक्सान भइरहेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बाहिर कडाइको प्रदर्शन गरे पनि तस्करीको गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। स्रोतका अनुसार, उनले मातहतका गुल्म र बीओपीहरू मार्फत तस्करीको ‘लाइन’ सञ्चालन गराइरहेका छन्।
स्थानीय व्यापारीहरूसँग मिलेर भन्सार छलीका सामान ल्याउने र भारततर्फ मदिरा पठाउने कार्य भइरहेको छ। गौर नाकाबाट राजेश पासवान, मुनिया, रवि यादव, सेरागोल्ड लगायतले कपडा भित्र्याउने गरेका छन् भने राकेशले माछा, मुकेशले कपडा, अमरेन्द्र जैसवाल, राधेश्याम, जितेन्द्र र गुडुले किराना सामान ल्याउने गरेका छन्। औरैया नाकाबाट अमरजीत साह र बबल सैनी कान्छा तस्करीमा संलग्न रहेको बताइन्छ।
यस तस्करी सञ्जालको सेटिङका लागि सशस्त्र प्रहरी सहायक हवल्दार नगिना साह प्रमुख मध्यस्थक रहेको स्रोतले दाबी गरेको छ। दरबन्दी पथलैया बारामा भए पनि उनी हप्तामा एक पटक गौर पुगेर व्यापारीहरूसँग रकम संकलन गर्ने र सो रकम एसपी हुमागाईंलाई बुझाउने आरोप लागेको छ।
गौर बसपार्क हुँदै गरुडा र चन्द्रनिगाहपुरसम्म तस्करी गरिएका सामग्री बसमार्फत पठाइने गरिएको छ। एक सानो सवारीमा ३५ देखि ४० हजार रुपैयाँ बराबरको सामान लोड गरिन्छ। राज्यसंयन्त्रकै मिलेमतोमा तस्करी मौलाउँदा सरकारले ठूलो राजस्व गुमाइरहेको छ।



