टिकटकमा खुकुरी देखाउनेलाई पक्राउ गर्ने प्रहरीले क्याम्पसमा बन्चरो नचाउनेलाई देखेन

केही दिन अगाडि नेकपा एकीकृत समाजवादी निकट अनेरास्वियु कोशी प्रदेशका कोषाध्यक्ष  शिवराम सहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले टिकटकमा खुकुरी देखाएको भन्दै नियन्त्रणमा लियो । पक्राउ परे पनि उनी एक दिन प्रहरी कार्यालयमा नै बसेका थिए ।  त्यसपछि भिडियो डिलिट गर्न लगाएर दैनिक हाजिरी जमानतमा उनलाई रिहा गरेको थियो ।

तर विराटनगरकै महेन्द्र मोरङ कलेज विराटनगरमा भएको नेविसंघका विद्यार्थी बिच भएको झगडामा भने जसवन्त पौडेलसहितको समूहले दिनदहाडै क्याम्पस परिसरभित्र बन्चरो नचाउँदै नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई कुटपिट गर्दा समेत मोरङ प्रहरी मौन देखिएको छ ।

बिहीबार पोखरेलमाथि भएको आक्रमणको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा पोखरेललगायत समूहमाथि एकोहोरो आक्रमण भइरहेको देखिन्छ । सुरुमा मुक्का र लात्तीले प्रहार गर्छन् । त्यसपछि पोखरेल ढल्छन् र जसवन्तले हातमा बोकेको बन्चरो लिएर अगाडि बढ्छन् । ढलेका युवालाई प्रहार पनि गर्न खोज्छन् । तर, प्रहार नगरी लात्ती हानेर बन्चरोलाई हाफ ज्याकेटभित्र राखेर हिँडेको भिडियो प्रस्टरुपमा देखिन्छ । तर, जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेद प्रसाद जोशीले उनले बोकेको हतियार खुकुरी भए नभएको पुष्टि नभएको बताए ।

राजनीतिक संरक्षणमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसभित्र गुण्डागर्दी फस्टाउँदा समेत प्रहरी भने बेखबर जस्तै बनेको हो । महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति पौडेल काँग्रेसमा सभापति शेरबहादुर देउवा निकट हुन भने पोख्रेल डा.शेखर कोइराला निकटका हुन् ।

नेविसंघकै दुई पक्षबिच झडप हुँदा पोखरेलसहित तीन जना विद्यार्थी घाइते भएका छन् । नेविसंघ मोरङका सभापति पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोलीले स्ववियु चुनावको विषयमा छलफल गर्दा आक्रमण भएको नेताहरूले बताएका छन् । स्ववियुमा भागबन्डाको विषयमा छलफल हुनसाथ सभापति पौडेलको समूहले बन्चरो, तरबार र लाठीले उनीहरूमाथि आक्रमण गरेको पीडितले बताएका छन् ।

आक्रमणबाट नेविसंघ मोरङ सचिव गुड्ड साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास पनि घाइते भएका छन् । घाइते तीनै जना कोइराला पक्षका हुन् । घटनामा सभापति पौडेल समूहका प्रशान्त यादव र सुविक्षा थापा मगर पनि घाइते भएका छन् ।आक्रमण उत्रिनेहरूमा पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरू प्रशान्त यादवलगायतको टोली रहेको पीडितको भनाइ छ । उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

तर, प्रहरीले भने दुवै पक्षबाट सुरक्षाको माग गरेर निवेदन मात्रै दिएको प्रहरीले जनाएको छ । त्यसो त पौडेलको यो पहिलो घटना होइन । गत जेठ २७ गते पौडेलको नेतृत्वमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएकै दिन उनीहरूले गाडीमा तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको थियो । त्यस बेला सभापति पौडेलकै नेतृत्वमा प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी भएको थियो ।

स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको घाइते भएकी पूजा विश्वासले बताइन् । ‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भयो’ उनले भनिन्, ‘स्ववियु सभापति पौडेलको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन् ।’

विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण भएको हो ।

सुरुमा मुक्काले प्रहार गरिएको र पछि बचरोसमेत ल्याएर आक्रमण गरिएको दाबी विश्वासले गरेकी छन् । विश्वासका अनुसार स्ववियुका नाममा भएको बदमासीबारे प्रश्न उठाएकोले आक्रमण भएको हो । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ’ उनले भनिन्, ‘स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौँ । त्यही रिसईबी राखेर आक्रमण गरिएको हो ।’

स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा आएर नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको दाबी गरे । भिडियो देखिएको बन्चरो पोखरेलको समूहबाट खोसेको उनको दाबी छ । ‘सरोजले बाहिरबाट नयाँ केटाहरू लिएर क्याम्पसमा छिरेर मेरो केटाहरूलाई बन्चरो बोकेर देखाएपछि मैले एक लात्ती हानेर बन्चरो खोसेको हो,’ उनले भने, ‘भिडियोमा हेर्दा मलाइ अराजक देखिन्छ । तर, उनीहरू निहुँ खोजेर नआएको भए यो घटना हुँदैन थियो ।’

केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको पौडेलले बताए । इतर पक्षधरले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभईकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ ।

प्रदेशको राजधानी मै रहेको क्याम्पसमा गुन्डा गर्दी मौलाएको भन्दै विरोध हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भने एकै सङ्गठनका विद्यार्थी बिच भएको घटना भएको भन्दै पन्छिन खोजेको छ । ‘दुई वटै समूह नेविसंघका हुन,’ सूचना अधिकारी जोशीले भने ‘उहाँहरू आफै भित्र पनि मिल्नु हुन्छ होला ।’ दुवै पक्षले एकले अर्को पक्षलाई कारबाहीको माग राख्दै निवेदन दिएकाले थप बुझेर मात्रै अगाडि बढ्छौँ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय