काठमाडौं : काठमाडौंका सार्वजनिक बसमा यात्रुको ५० हजार रुपैयाँ पाकेटमारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका श्याम तामाङ र सुमन मगर रहेका छन्।
प्रहरी वृत्त स्वयम्भुका डिएसपी उद्धवसिंह भाटका अनुसार, उनीहरूले पाँच जनाको समूह बनाई कलंकीबाट नयाँ बसपार्क जाँदै गरेका यात्रुको रकम चोरेका थिए। सिसिटिभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरू पेशेवर पाकेटमार रहेको प्रहरीको दाबी छ। यसैबीच, स्वयम्भु वृत्तले थप अनुसन्धान गर्दै अन्य ८ जनालाई पनि नियन्त्रणमा लिएको छ।



