विवादित भारतीय ब्यापारी गर्छन् टनका टन माछा तस्करी, नेपाली मत्स्य ब्यवसाय धरासायी

बीरगञ्ज । धेरैजसो कृषिजन्य वस्तुमा नेपाल परनिर्भर छ तर माछामा आत्मनिर्भर हुने क्रममा छ । स्वदेशी माछाले बजारको ८० प्रतिशत हिस्सा ओगटेको अध्ययन सार्वजनिक भइसकेको छ । स्वदेशमा उत्पादन बढ्दै जाँदा मत्स्यपालक किसान माछापालनतर्फ आकर्षित भइरहेका छन् । तर भारतको आन्ध्र प्रदेशबाट आउने तस्करीको माछा नेपाली बजारमा छ्यापछ्याप्ती भएकाले मत्स्यपालक किसानहरु मारमा परेका छन् । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि घातक मानिएको फर्मालिन रसायन हालेर नेपाली बजारमा तस्करीको माछा भित्र्याउने गरिएको छ ।

नेपाली माछा भन्दा सस्तोमा पाउने भएकाले उपभोक्ताहरुले त्यही भारतीय माछा किन्ने गरेका छन् । फर्मालिन प्रयोग गरिएको माछा उपभोग गर्दा क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने चिकित्सकहरुले बताउँदैआएका छन् । तर भारतबाट ल्याइएका फर्मालिन रसायन राखिएका माछा तस्करीको माध्यमबाट रक्सौल हुँदै बीरगंजमा ल्याएर नेपालका हरेक सहरमा पुग्ने गरेको छ । भारतमा माछापालक किसानलाई सरकारले अनुदान दिएको छ । जसका कारण भारतमा माछा सस्तो छ । भारतको आन्ध्र प्रदेशबाट ३ दिनपछि नेपालमा आइपुग्छ । ३ दिनसम्म माछा ताजा राख्न घातक फर्मालिन राखिएको हुन्छ ।

एकातिर फर्मालिन राखिएको माछाले मानवस्वास्थ्यमा गम्भीर असर परिरहेको छ भने अर्कोतिर नेपालको मत्स्य ब्यवसाय धरासायी हुँदै गएको छ । तस्करीको माछा भित्र्याउँदा राजस्वमा नोक्सान पनि भइरहेको छ । भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा भारतीय नागरिक विपिन साह तुरहाले नेपालमा करोडौंको माछा तस्करी गरी भित्र्याएर विभिन्न जिल्लामा पठाउने गरेका छन् ।भारतीय नागरिक तुरहाले नेपाली नागरिकता पनि लिएका छन् । नेपालमा नेपाली नागरिक बनेर प्राप्त हुने सुविधा लिंदैआएका उनले भारतको आधारकार्ड(नागरिकता) लिएर उताको नागरिकको सुविधा पनि लिइरहेको तथ्य खुलेको छ ।

विपिनले भारतको आन्ध्र प्रदेशबाट ल्याएको माछा रक्सौलको माछा बजारमा भण्डारण गर्ने गर्दछन् । त्यहाँबाट बाराको बरियारपुर, पिपरा बेनौली, छतवा, बसतपुर र बलरामपुर पर्साको भकुवा, अलौ, अमारपट्टी, बुडगाई, सिक्टा र भिस्वा नाका भएर दैनिक हजारौँ टन तस्करीको माछा भित्रिरहेको छ । भारत र नेपाल दुवैतर्फको नागरिकता लिएका विपिन साह तुरहाले प्रहरी र सशस्त्रका जिल्लादेखि प्रदेशका डीआईजीसम्म सेटिङ गरी दैनिक करोडौंको माछा तस्करी गर्दैआएका छन् ।भारतको आन्ध्र प्रदेशबाट पंगास, रोहु, भकुरा र रूपचन प्रजातिका माछा नेपालमा थोरै भन्सार तिरेर ल्याए पनि अरु सबै तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको कारणले गर्दा नेपाली माछा व्यवसायीहरु मारमा परेका छन् ।

तुरहाले भातीय नागरिकले मात्र पाउने विदेश व्यापारको कार्यालयबाट आयातक निर्यातक कोड इम्पोर्टर एक्सपोर्टर कोड (आईईसी) नम्बर लिएका छन् । उनले कोड नम्बर २११७५०१४७८ बालाजी ट्रेडर्स, मछली बजार रक्सौल पूर्वी चम्पारण बिहार नागा रोडको ठेगाना देखाइ लिएका छन् । नेपाली नागरिकले नपाउने उक्त सुविधा विपिनले भारतमा भारतीय नागरिक विपिन साह बनेर लिएका छन् भने नेपालमा उनको नाममा दर्ता रहेको सुरज फिस सप्लायर्समा प्रोप्राइटरको नाम विपिन साह तुरहा उल्लेख छ ।

वीरगञ्ज भन्सार कार्यालय आईसीपी क्लियरिङ एजेण्ट संघले नेपाली नागरिकको नाममा इम्पोर्टर एक्सपोर्टर कोड (आईईसी) जारी हुन नसक्ने जनाएको छ । नेपालमा माछा तस्करीका लागि रामबाबु तुराहा, श्यामबाबु तुरहा, राहुल तुरहा, उमेश पटेल र जालन्धर तुरहा बोर्डरमा भन्सार, प्रहरी र सशस्त्र प्रहरीको लाइन मिलाउने काममा खटिने गरेका छन् । भन्सार, प्रहरी र सशस्त्रको सेटिङमै फर्मालिन जस्तो जनस्वास्थ्यका लागि घातक रसायन राखिएको भारतीय माछा नेपालका बजारमा छ्यापछ्याप्ती बनाइएको छ ।

वीरगञ्ज भन्सार कार्यालय आईसीपीबाट विपिनले दैनिक पिकअप र ट्रकमा न्यून राजस्व तिरेर कमसल फर्मालिन हालेको माछा भित्र्याउने गरेको र जाँचकीको मिलोमतोमा आफ्नो एजेण्ट मुस्तफामार्फत् प्रत्येक पिकअपमा नियमले ४८ ट्रे माल हुनु पर्नेमा मिलाएर ५६ ट्रे ट्रकभित्र १४५ ट्रे को ठाउँमा ३०० ट्रे माछा नेपाल भित्र्याउने गरेका छन् । भारतमा माछापालक कृषकहरूलाई भरपुर अनुदानदेखि सबै सुविधा प्राप्त छ । तर त्यसको तुलनामा नेपाली माछापालक किसानले सरकारबाट अति कम सुविधा पाउँदैआएका छन् । जसका कारण भन्सार कार्यालयबाट शुल्क तिरेर आउने र तस्करीको माध्यमबाट आउने माछासँग प्रतिस्पर्धा गर्न नेपाली ब्यवसायीले सक्दैनन् ।

पशु सेवा विभागले एउटा नमूना जाँचेको भरमा ६ महिनासम्म हजारौं टन माछा आयात गर्न अनुमति दिने गरेको छ । जुन प्रावधानले पनि नेपाली कृषक मारमा परेका छन् । विपिन साले पठाएको १४ सय केजी फर्मालिन हालेको माछा गएको माघ २८ गते झापा जिल्लाको सशस्त्र प्रहरीको गण नं २ ले नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोख्रेलको कमाण्डमा खटिएको गस्ती टोलीले कन्काई १ जामुनखाडीस्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत जामुनखाडी चोकनजिकै अन्दाजी ४ लाख २०हजार मूल्यबराबरको माछा बरामद गरेको थियो । बरामद माछा क्वारेन्टाइन कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाको हाताभित्र नष्ट गरेको थियो । मानव स्वास्थ्यका लागि हानिकारक रसायन फर्मालिन हालिएकाले ती माछा नष्ट गरिएको जनाइएको थियो ।

झापाको सशस्त्र प्रहरीले जस्तै जिल्ला प्रहरी कार्यालय बारा र पर्साको प्रमुखमा भर्खरै सरुवा भएका एसपीद्वय सन्तोष तामाङ र गौतम मिश्रले तस्करीको माछा आउने नाकाबाटै रोक्ने र नेपालको मत्स्य ब्यवसायलाई धरासायी हुनबाट बचाउने अपेक्षा गरिएको छ । नेपालफेस बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय