सर्लाही, १३ फागुन – सर्लाही प्रहरीले नेपाल – भारत सीमा क्षेत्र नजिकै स्रोत नखुलेको सात लाखभन्दा बढी नगदसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका – ८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार, सितामढी जिल्ला, बिसनपुर ग्राम पञ्चायत –१५ निवासी २२ वर्षीय चन्दनकुमार महतोको साथबाट लुकाइएको रकम बरामद गरिएको हो । बीआर ३० एबी ९१८३ नम्बरको मोटरसाइकलमा मलंगवा – सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका महतोको शरीर खानतलासी गर्दा पाइन्टभित्र लुकाएर राखेको ७ लाख ५८ हजार ३१० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
स्रोत नखुलेको उक्त रकम अवैध हुण्डी कारोबारमा प्रयोग गर्न लागिएको हुनसक्ने आशङ्कासहित प्रहरीले युवकलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय मलंगवाको जिम्मा लगाएको छ ।



