सरोज यादव । सर्लाही : नेपालमा सरकारी सेवामा प्रवेश गर्नु लाखौं युवाको सपना हो। स्थायित्व, सम्मान, तथा राष्ट्रसेवाको अवसरका कारण सरकारी जागिरको आकर्षण सधैं उच्च रहन्छ। तर, यो यात्रा सहज छैन। कठोर परिश्रम, धैर्य र समर्पण बिना सफल हुनु गाह्रो छ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी विजय कान्त दास र सविता देवी दासका पाँचै छोराहरूले यी सबै चुनौती पार गर्दै सरकारी सेवामा स्थान बनाउन सफल भएका छन्। मध्यम वर्गीय परिवारका यी पाँच दाजुभाइले खरिदारदेखि शाखा अधिकृतसम्म विभिन्न सरकारी पदमा प्रवेश गरेका छन्।
शिक्षा र मेहनतको बलमा यो अद्भुत सफलता हासिल गरेका दास परिवार अहिले स्थानीय मात्र होइन, देशभरका युवाका लागि प्रेरणाको केन्द्र बनेका छन्।
दास परिवारका अभिभावक विजय कान्त दास लामो समयदेखि शिक्षाक्षेत्रमा समर्पित छन्। उहाँ हाल सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवा स्थित जगन्नाथ राजकुमारी आधारभूत विद्यालयमा थाई (स्थायी) शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ।
शिक्षालाई जीवनको प्रमुख आधार मान्ने विजय कान्त दासले आफ्ना छोराहरूलाई सानैदेखि अध्ययनमा प्रेरित गरे। कठिन परिस्थितिका बाबजुद शिक्षा नै भविष्यको आधार हो भन्ने सोच राख्दै, उनले आफ्ना पाँचै छोरालाई मेहनत गर्न प्रोत्साहित गरे।
छोराहरू सरकारी सेवामा प्रवेश गरेपछि विजय कान्त दासको आँखामा खुसीका आँसु झरे। आफूले सहनु परेको दुःख सम्झँदै भावुक हुँदै उनले भने,
“म गरिब, त्यसमा पनि जातको ‘दास’ भएकाले समाजमा धेरैले मलाई हेप्थे, होच्याउँथे। तर, आज मेरा छोराहरू सरकारी सेवामा पुगेपछि ती सबैले गर्वका साथ मेरो नाम लिन्छन्।”
सरकारी सेवासम्मको यात्रा
१. धनञ्जय प्रसाद दास (शाखा अधिकृत)
दास परिवारका जेठा छोरा धनञ्जय प्रसाद दास २०६८ मा खरीदार पदबाट सरकारी सेवा प्रवेश गरेका थिए। उनले २०७१ मा नायब सुब्बा पदमा पदोन्नति पाए। निरन्तर परिश्रम र अध्ययनको बलमा २०८० मा शाखा अधिकृत पदमा पुग्न सफल भए।
२. अनन्जय प्रसाद दास (नायब सुब्बा)
माइलो छोरा अनन्जय प्रसाद दासले २०७३ मा खरीदार पदमा सेवा प्रवेश गरेका थिए। उनले २०७९ मा नायब सुब्बा पदमा पदोन्नति प्राप्त गरे।
३. निरञ्जन प्रसाद दास (५ तह लेखापाल, मधेश प्रदेश सरकार)
साइँलो छोरा निरञ्जन प्रसाद दासले २०७९ मा बागमती प्रदेश प्रशासनतर्फ चौथो तहबाट सेवा प्रवेश गरेका थिए। हाल उनी २०८१ मा मधेश प्रदेश सरकारअन्तर्गत लेखापाल (५ तह) मा पदस्थापन भएका छन्।
४. अमित प्रसाद दास (४ तह सहायक लेखापाल, नेपाल विद्युत प्राधिकरण)
काइँलो छोरा अमित प्रसाद दासले २०८० मा नेपाल विद्युत प्राधिकरणको ४ तह सहायक लेखापाल पदमा प्रवेश गरेका छन्।
५. रौशन प्रसाद दास (खरीदार)
सबैभन्दा कान्छा छोरा रौशन प्रसाद दासले २०८१ मा खरीदार पदमा सेवा प्रवेश गरेका छन्।
मध्यम वर्गीय परिवारबाट सरकारी सेवा: एक असाधारण सफलता
दास परिवारको सफलता नेपालका लाखौं मध्यम वर्गीय परिवारका लागि प्रेरणादायी छ। सरकारी सेवामा प्रतिस्पर्धा तीव्र छ, तर सही मार्गदर्शन, दृढ संकल्प, र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा यस परिवारले प्रमाणित गरिदिएको छ।
एक साधारण मध्यम वर्गीय परिवारबाट आएका यी दाजुभाइले शिक्षा, परिश्रम र समर्पणको बलमा सरकारी सेवा हासिल गरेका छन्।
नेपालमा धेरै अभिभावकहरू आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन संघर्षरत छन्। आर्थिक सीमितताका कारण कतिपय विद्यार्थी अध्ययनलाई बीचमै रोक्न बाध्य हुन्छन्। तर, विजय कान्त दास र सविता देवी दासले आफ्ना छोराहरूलाई शिक्षाको मूल्य बुझाए र उनीहरूलाई सरकारी सेवामा प्रवेशका लागि हौसला प्रदान गरे।
दास परिवारको सफलता: अबको पुस्ताका लागि प्रेरणा
आज दास परिवारका पाँचै छोरा राष्ट्रसेवामा समर्पित छन्। उनीहरूको संघर्ष र सफलता देशभरका युवाहरूका लागि प्रेरणादायी कथा बनेको छ।
सरकारी सेवामा प्रवेश गर्ने प्रतिस्पर्धा दिनप्रतिदिन कठिन बन्दै गएको छ। तर, लगनशीलता, अनुशासन, सही रणनीति र कडा मेहनत गरे सफल भइन्छ भन्ने कुरा दास परिवारले प्रमाणित गरिसकेको छ।
यो सफलताले स्पष्ट पार्छ कि परिवारको सहयोग, मेहनत, र सही लक्ष्यमा केन्द्रित रहन सके कुनै पनि सपना पूरा गर्न सकिन्छ। दास परिवारको यो यात्राले धेरै युवालाई सरकारी सेवाको बाटो समात्न थप हौसला दिनेछ।



