सर्लाही – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजको समग्र विकासका लागि महिलालाई पुरुष समान अधिकार र अवसर दिनुपर्ने बताएका छन्। नेपाल मुस्लिम संघ मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले मुस्लिम समुदायका महिलाहरूलाई शिक्षा हासिल गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले समाजमा भएका विकृतिहरू हटाउन र जनताको मन जित्दै पार्टीलाई बलियो बनाउन मुस्लिम संघको भूमिका महत्वपूर्ण रहेको बताए। ‘मुस्लिम समुदायमा अहिले पुरुषहरूले शिक्षामा राम्रो प्रगति गरेका छन्। महिलाहरूले पनि चाहेअनुसार शिक्षा प्राप्त गर्न पाउने वातावरण बनाउन मुस्लिम संघले काम गर्न आवश्यक छ,’ सिंहले भने, ‘समाजको विकासका लागि पुरुष मात्र अघि बढेर हुँदैन, महिला र पुरुष सँगसँगै अघि बढ्नुपर्छ।’
सिंहले मुस्लिम संघ स्थापनामा आफूले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको आग्रहपछि अग्रसरता लिएको स्मरण गर्दै संघका सबै समितिहरूमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनताको जीवन र जीविकोपार्जन सहज बनाउन कांग्रेस नेतृत्व आवश्यक रहेको बताए। उनले अधिकार प्राप्तिका लागि संघर्ष गरेको कांग्रेसले अब नागरिकको आर्थिक अवस्था सुधार्ने र संविधानप्रदत्त अधिकार सबैले बराबरी उपभोग गर्न पाउने व्यवस्था गर्न कानून निर्माण गर्ने उल्लेख गरे।
‘जसरी अधिकार प्राप्तिको आन्दोलनमा कांग्रेसले नेतृत्व गर्यो, अब २०७२ को संविधानले दिएको अधिकार सबै नागरिकले बराबरी उपभोग गर्न पाउने वातावरण तयार पार्नुपर्छ। तीनै तहका सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गराएर हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन आवश्यक छ,’ सिंहले भने।
उनले राजनीतिक स्थिरता बिना आर्थिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दाहरू सम्बोधन हुन नसक्ने उल्लेख गर्दै वर्तमान सरकार यही उद्देश्यसहित गठन भएको स्पष्ट पारे। सिंहले प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन आवश्यक संघीय कानून निर्माण गरी प्रभावकारी शासन प्रणाली विकास गरिने बताए।
उपप्रधानमन्त्री सिंहले नेपालले प्राप्त गरेको अधिकार सहजै प्राप्त नभएको भन्दै हजारौं नेपालीको बलिदानको मूल्य सम्झन आग्रह गरे। उनले हचुवाका आधारमा निर्णय गर्दा संविधानले प्रदान गरेको अधिकार गुम्न सक्ने चेतावनी दिँदै अधिकार प्राप्तिका कुरा गर्दा त्यससँगै आउने जिम्मेवारीबारे पनि सचेत रहनुपर्नेमा जोड दिए।
‘हामीले प्राप्त गरेको उपलब्धि संस्थागत गर्दै आर्थिक समृद्धि र विकासलाई सरकारको प्राथमिकतामा राखेका छौं। जनताको चाहनालाई पूरा गर्ने जिम्मेवारी कांग्रेसकै हो, र हामी त्यसका लागि प्रतिबद्ध छौं,’ सिंहले भने।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, नेपाल मुस्लिम संघका पूर्वअध्यक्ष अब्दूल सतार, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र सिंहलगायतको उपस्थिति रहेको थियो।



