सर्लाही, फागुन १२ – उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले लालबन्दी नगरपालिका–७ मा नवनिर्मित व्यावसायिक भवनको आज (सोमवार) उद्घाटन गरेका छन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामको पहलमा साझा संस्थाको जग्गामा निर्माण गरिएको उक्त भवन स्थानीय युवालाई व्यापार तथा व्यवसाय सञ्चालन गर्न सहयोगी हुने विश्वास गरिएको छ ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भवनले स्थानीय उत्पादन बिक्रीको थलोको रूपमा काम गर्ने उल्लेख गर्दै सोही अनुसार उपयोग गर्न आग्रह गरे । साथै, उनले अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
शहरी विकास तथा भवन निर्माण कार्यालयका महानिर्देशक मचाकाजी महर्जनले लालबन्दी नगरपालिकालाई भवनको उचित संरक्षण तथा व्यवसायिक प्रयोजनका लागि सदुपयोग गर्न अनुरोध गरे । नगरप्रमुख वासुदेव अधिकारीले आधुनिक सुविधा सम्पन्न भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसलाई छिट्टै व्यवसायिक प्रयोजनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यस अवसरमा नगरप्रमुख अधिकारीले लालबन्दी नगरपालिकाको भौतिक पूर्वाधार विकासका लागि थप पहल गर्न उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले नगर विकासमा थप सहयोगको अपेक्षा व्यक्त गरिन् भने नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले सर्लाहीमा रहेका अन्य स्थानीय तहहरूमा पनि यस्तै प्रकारका व्यावसायिक भवन निर्माणका लागि सरकारलाई आग्रह गरे ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका इन्जिनियर मणिकान्त साहका अनुसार तीन तले उक्त भवन निर्माणमा कुल ५ करोड ४१ लाख ५२ हजार ९७५ रुपैयाँ ४८ पैसा खर्च भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।



