सर्लाही : सर्लाहीको हरिवन र बागमती नगरपालिकाका विभिन्न क्षेत्रमा जंगली हात्तीको आतंक जारी छ। आईतवार दिउँसो तीनवटा जंगली हात्ती देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार, हात्तीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रमा घरटहरा भत्काउनका साथै मकैबाली नष्ट गरेका छन्।
यसअघि, सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा पनि जंगली हात्तीको समूह पसेर एक विपन्न परिवारको घर भत्काइदिएको थियो। ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काएर हात्तीले भित्र राखिएको धान, चामल लगायतका अन्न खाएको स्थानीय वीरबहादुर पाख्रिनले जानकारी दिएका छन्। पाँचवटा हात्तीले घरका भाँडाकुडा समेत कुल्चेर नष्ट बनाइदिएका छन्। आक्रमण सुरु भएपछि घरभित्र सुतेका मानिसहरू भागेर ज्यान जोगाउन बाध्य भए। हिँड्डुल गर्न नसक्ने वृद्ध धनमायालाई नातिनीले बोकेर सुरक्षित स्थानमा लगेकाले मानवीय क्षति टरेको थियो।
यसअघि लालबन्दीको रानिगन्ज क्षेत्रमा पनि यी हात्तीले व्यवसायी शिवहरि गौतमको केरा खेती र अन्य किसानको मकैबालीमा ठूलो क्षति पुर्याएका थिए। यस घटनाले स्थानीयवासीमा ठूलो डर र त्रास फैलाएको छ।
स्थानीयका अनुसार, केही दिनदेखि महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जंगली हात्तीहरू बाँके खोला हुँदै सर्लाही प्रवेश गरेका हुन्। हात्तीहरूको आगमनले सर्लाहीका विभिन्न क्षेत्रका बासिन्दा अझै त्रासमा छन्।



