काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आत्महत्या घटनामा ८ जना पक्राउ परेका छन् । घटनाबारे सोधपुछ गर्न पञ्चायत बसेका ८ जनालाई नियन्त्रणमा लिएको हो । छानबिन समितिका प्रमुख एसएसपी शान्तिराज कोइरालाले पञ्चायत बसेका लगायत केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले जाहेरी परेकाहरूलाई भने प्रहरीले खोजिरहेको बताए ।
फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिएका रिंकुका परिवारले फागुन ८ गते इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका छन् ।माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन् । त्यसपछि २९/३० गते पञ्चायत बसेर यस घटनामा मेलमिलाप गराइएको थियो । यसबीच विवाद भइरहँदा रिंकु ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।



