काठमाडौं । वर्तमान सरकार गठन भएपछि नेपाल प्रहरीमा कार्यरत छोटो अवधि भएका केही डीआईजीलाई एआईजीमा बढुवा गर्ने क्रम जारी राखेको छ । प्रहरी संगठनको समग्र हितमा भन्दा पनि ब्यक्तिको फाइदाका लागि सरकारले १० दिन जागिर अवधि बाँकी भएकादेखि २० दिन भएकाहरुलाई एकपछि अर्को एआईजी बढुवा गर्दैआएको छ । जसले प्रहरीमा अतिरिक्त ब्ययभार थप्ने काममात्रै गरेको छ । यसैक्रममा नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।डीआईजी भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनको अनिवार्य अवकाश हुन अब २३ दिन मात्रै बाँकी छ । उनले आगामी ५ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । यसअघि एआईजी रविन्द्र केसीले भट्टराईलाई बढुवा गर्नका लागि राजीनामा दिएका थिए ।




