धनुषा – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन नेपाल संविधान र पार्टी विधानअनुसार नै हुने स्पष्ट पारेका छन्। शनिबार (फागुन १०) कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा उनले सबै पक्षलाई समेट्दै विधि र नियमअनुसार महाधिवेशन सम्पन्न गरिने बताए।
नेता सिंहले कांग्रेस बलियो पार्टी भए पनि आन्तरिक व्यवस्थापनको अभावमा कमजोर देखिएको बताए। उनले पार्टीभित्रका समस्याहरू आपसी सहमतिका आधारमा समाधान गर्नुपर्नेमा जोड दिए। “गुट–उपगुटका स्वार्थभन्दा माथि उठेर पार्टीलाई केन्द्रमा राखी काम गर्यो भने एकता कायम हुन्छ,” उनले भने।
उनले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको स्मरण गराउँदै यसको सुदृढीकरण र संस्थागत विकास आवश्यक रहेको बताए। उनका अनुसार सरकार जनचाहनाअनुसार अधिकारसम्पन्न नागरिक निर्माण गर्दै स्थिरता, विकास र समृद्धितर्फ अघि बढिरहेको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना, गुरु बराललगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



