नेपाली कांग्रेस सर्लाहीद्वारा मन्त्री कौशल किशोर रायसँग स्पष्टीकरण माग, रायको कडा प्रतिक्रिया

सरोज यादव । १० फागुन, सर्लाही – मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायविरुद्ध नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले स्पष्टीकरण माग गरेको छ। उनलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ। तर, मन्त्री रायले यो निर्णयलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै असन्तुष्टि जनाएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका रायमाथि अन्य दलका नेताहरूको कार्यक्रममा सहभागी भएको तथा पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको आरोप लागेको छ। कांग्रेस अनुशासन समितिले सोही आरोपका आधारमा रायसँग स्पष्टिकरण माग गरेको हो।

तर, मन्त्री रायले आफू बलरा नगरपालिकास्थित एक विद्यालयका सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रममा मात्र सहभागी भएको प्रस्ट्याएका छन्। उनले शिक्षक संघ सर्लाहीको तीन पटक अध्यक्ष रहेको नाताले आफूलाई विद्यालयका कार्यक्रममा निमन्त्रणा गरिनु स्वाभाविक भएको बताए। “शिक्षकको सम्मान कार्यक्रममा गएर बोल्नु अनुशासन उल्लंघन कसरी हुन सक्छ? यो निर्णय व्यक्तिगत पूर्वाग्रहबाट प्रभावित छ,” उनले भने।

मन्त्री रायले पार्टीभित्र विकृति, विसंगति, पैसाको चलखेल र दादागिरी मौलाएको विषयमा उक्त कार्यक्रममा बोलेको खुलासा गरे। उनले पार्टी छाड्ने नभई सुधारका लागि भित्रैबाट संघर्ष गरिरहने बताएका छन्। साथै, उनले संघीय तथा प्रदेश चुनावमा कांग्रेसका उम्मेदवारहरूलाई अन्तरघात गर्नेहरू नै अहिले अनुशासनका संरक्षक बन्न खोजेको आरोप लगाए।

रायले अनुशासन समितिका संयोजक डा. सरोज कुमार राय यादवविरुद्ध आफूले केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएको स्मरण गराउँदै, “स्वयं अनुशासन उल्लंघन गर्ने व्यक्तिहरूले मलाई कारबाही गर्न खोज्नु हास्यास्पद छ,” भने।

यसैबीच, मन्त्री रायले कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय यादव लोसपा उम्मेदवारको पक्षमा भोट माग्दै गरेको भिडियो सार्वजनिक गरेका छन्। उक्त भिडियोमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि देखिन्छन्। उल्लेखनीय छ, कांग्रेस अनुशासन समितिका संयोजक डा. सरोज कुमार राय यादव पूर्व सभापति राय यादवकै छोरा हुन्।

राजनीतिक पूर्वाग्रहबाट प्रेरित यस कदमले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व चर्काउने र पार्टीलाई कमजोर बनाउने खतरा देखिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय