सर्लाही – सर्लाहीमा दुई रातदेखि जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस्तीमा भयानक क्षति पुर्याएका छन्।
लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान शिवहरि गौतमले व्यवसायिक रूपमा थालेको केराखेती हात्तीको आक्रमणले तहसनहस बनेको छ। हात्तीले २०० भन्दा बढी केराको बोट नष्ट गर्नुका साथै वरपरका किसानको मकैबालीसमेत सखाप पारेको छ।
यसअघि मंगलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा हात्तीको समूहले ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काइदिएको थियो। दिनहुँ दोहोरिने यस्ता घटनाले स्थानीयवासी त्रसित भएका छन्।
हात्ती आतंक रोकथामका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयबासीको माग छ।



