लालबन्दी, ०८ फागुन – यही फागुन १६ र १७ गते काठमाडौंमा हुने २४औँ आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताका लागि सर्लाहीबाट १३ खेलाडी छनौट भएका छन्।
लालबन्दी-६ स्थित कम्युनिटी आवासीय विद्यालयको मैदानमा आयोजित छनौट प्रतियोगितामा पुरुष र महिलातर्फ २५ देखि ६० केजी तौल समूहका खेलाडीहरू चयन गरिएको नेपाल अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए।
छनौट कार्यक्रम संघका मधेश प्रदेश अध्यक्ष दीक्षा खतिवडाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
छनौट भएका खेलाडीहरूमा पुरुषतर्फ दीपसन गोले, सक्षम श्रेष्ठ, एलेक्स जेन्डर राय, अविशेक यादव, सर्मपण गहतराज, आर्य प्रजापति र सुनिल महतो रहेका छन् भने महिलातर्फ लक्ष्मी कार्की, कविता महतो, सुमिना मगर, मुना विक, खुसी स्याङ्बो र मुना विक रहेका छन्।
छनौट भएका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ तयारीमा जुटिसकेको आयोजक समितिले जनाएको छ।



