जनकपुरधाम, फागुन ७ गते – मधेस प्रदेशका स्वास्थ्य सूचकाङ्कहरू कमजोर अवस्थामा रहेका छन्, तर समस्या समाधानका लागि सरकारको प्रभावकारी पहल देखिएको छैन। चालु आर्थिक वर्षको बजेट र योजनाहरूले स्वास्थ्य क्षेत्रका चुनौतीहरूलाई पर्याप्त सम्बोधन गर्न सकेका छैनन्।
स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहका अनुसार, वर्तमान योजनाहरू संघीयताको मर्म र सेवाग्राहीको आवश्यकताअनुसार बनाइएका छन्। उनले प्रादेशिक तथा आयुर्वेदिक अस्पतालहरूको विकास, क्यान्सर, मुटु, र मिर्गौलासम्बन्धी विशेष अस्पताल निर्माण तथा ट्रमा सेन्टर स्थापना सरकारका प्रमुख प्राथमिकता रहेको बताए।
तर, अस्थिर सरकारका कारण योजनाहरूमा निरन्तरता नआउँदा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको स्वास्थ्यमन्त्रीको स्वीकारोक्ति छ। तथापि, भौतिक संरचना मजबुत बनाउने, गम्भीर रोग न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने, खोप अभियान सञ्चालन गर्ने, तथा स्वास्थ्य बीमा सेवा विस्तार गर्ने कार्यहरूलाई निरन्तरता दिइएको उनले बताए।



